एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले क्रिस्टल प्यालेसलाई हराएको छ । आइतबार भएको खेलमा एभर्टनले क्रिस्टललाई २ - ० ले हराएको हो ।
घरेलु मैदानमा खेलको अन्तिम ४ मिनेटभित्र दुई गोल गर्दै एभर्टनले जित निकालेको हो । एभर्टनका लागि डोमिनिक लेविन र सेन्क टोसुनले एक एक गोल गरे ।
गुडिसन पार्कमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम समयमा लेविन र टोसुनले गोल गर्दै एभर्टनलाई जित दिलाएका हुन् ।
खेलको ८७ औं मिनेटमा लेविनले हेडबाट गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं टोसुनले गोल गर्दै एभर्टनलाई महत्वपूर्ण ३ अंक दिलाए ।
त्यसअघि खेलको ६० औं मिनेटमा क्रिस्टलले पेनाल्टीमा गोल गर्ने मौका गुमाएको थियो । क्रिस्टलका लुका मिलिजोभिचका पेनाल्टी प्रहार एभर्टनका किपर जोर्डन पिकफोर्डले बचाएका थिए ।
यो जितसंगै एभर्टनले ९ खेलबाट १५ अंक जोडेको छ । एभर्टन लिगको आठौं स्थानमा छ । ७ अंक जोडेको क्रिस्टल १५ औं स्थानमा छ ।