एजेन्सी । फुटबलमा करियर खोजिरहेका ट्रयाक एण्ड फिल्डका चर्चित धावक उसेन बोल्टलाई अष्ट्रेलिया शीर्ष डिभिजनको लिग खेल्ने अवसर मिलेको छ ।
आठ पटकको ओलम्पिक च्याम्पियन ३२ बर्षिय बोल्टलाई अष्ट्रेलियाको शीर्ष डिभिजन क्लब सेन्ट्रल कोष्ट मरिनर्सले अनुबन्धको लागि प्रस्ताव गरेको छ । बोल्ट हाल मरिनर्समै प्रशिक्षण गरिरहेका छन् ।
बोल्टका एजेन्ट रिकी सिम्सले बोल्टलाई क्लबले अनुबन्धको लागि प्रस्ताव गरेको बताए ।
'पक्कै पनि बोल्टलाई क्लबले अनुबन्धको प्रस्ताव गरेको छ । तर, यस बिषयमा थप बोल्न चाहन्न,' एजेन्ट सिम्सले भनेका छन् ।
यसअघि बोल्टले माल्टा डिभिजन क्लब भलेट्टा एफसीले गरेको प्रस्ताव अस्वीकार गरेका थिए । बोल्ट गत अगष्टबाट सेन्ट्रल कोष्ट मरिनर्स क्लबमा रहदै आएका छन् ।
बोल्ट व्यावसायिक फुटबलमा करियर बनाउन अहिले अष्ट्रेलियामा रहेका छन् । एक साता अघि भएको मैत्रीपूर्ण खेलमा मरिनर्सबाट खेल्दै बोल्टले म्याकर्थर साउथ वेष्टविरुद्ध दुई गोल समेत गरेका थिए ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।