एजेन्सी । फिफा विश्वकप फुटबलको लागि रुस पुगेका क्रोएसियाका फरवार्ड निकोला कलिनिकलाई घर फर्काइएको छ । विश्वकपको लागि क्रोएसियाको २३ सदसिय टोलीमा रहेका निकोला विश्वकप नसकिदै घर फर्किएका हुन् ।
क्रोएसियाका वैकल्पिक फरवार्डका रुपमा रहेका निकोला चोटका कारण घर फर्किएका हुन् । उनको ढाडमा रहदै आएको समस्या बल्झिएको बताइएको छ । निकोला घर फर्किएसँगै क्रोएसियासँग विश्वकपमा २२ खेलाडी रहने छ ।
इटालियन क्लब एसी मिलानका ३० बर्षीय भेट्रान निकोलाले नाइजेरियाविरुद्धको खेलमा मैदान पस्ने तयारी गरेपनि ढाडमा समस्या आउदा मैदान छिरेका थिएनन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डेलीकले उनको यो समस्या इंग्ल्यान्डमा भएको ब्राजिलबिरुद्धको मैत्रीपूर्ण खेलमा समेत देखिएको बताए ।
'नाइजेरियाविरुद्ध निकोलाले वार्म अप गरिरहेका थिए । उनको दोस्रो हाफमा मैदान आउने तयारी थियो । तर, ढाडको समस्याका कारण उ मैदान पस्न तयार थिएनन्,' प्रशिक्षक ज्लाट्कोले भने, 'म मेरा खेलाडी पूर्ण फिट र खेलको लागि तयार भएको चाहन्छु । त्यसैले मैले यो निर्णय गरे ।'
विश्वकपको आफ्नो पहिलो खेलमा क्रोएसियाले नाइजेरियासँगको पहिलो खेलमा २ – ० को जित निकालेको थियो ।
विश्वकप टिम बाहिर रहदै घर फर्काइएका निकोलाले क्रोएसियाका लागि ४१ खेलमा १५ गोल गरेका छन् ।