काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले महिला साफ च्याम्पियनसिप नेपालले गर्ने सम्भावना बलियो रहेको बताएका छन् ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाली यू-१९ महिला टोलीको विदाई कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले महिला साफको लागि नेपाललाई आयोजनाको प्रस्ताव आएको बताए ।
श्रीलंकाले आगामी डिसेम्बरमा तय भएको साफ आयोजकबाट हात झिकेपछि नेपालले साफ गर्ने सम्भावना बलियो भएको हो ।
'श्रीलंकाले महिला साफ आयोजना नगर्ने भएका छन् । त्यसैले महिला साफ नेपालमा हुने सम्भावना बलियो छ,' अध्यक्ष शेर्पाले भने ।
दक्षिण एसियाली फुटबल फेडेरसनले महिला साफ च्याम्पियनसिपको समूह चरणको ड्र सार्वजनिक गरिसकेको छ ।
महिला साफ च्याम्पियनसिपको यस संस्करणमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा बंगलादेश, भुटान र पाकिस्तान रहेको छ ।
यस्तै समूह 'बि' मा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ । समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
महिला साफ च्याम्पियनसिप आगामी १४ डिसेम्बर देखी २३ डिसेम्बरसम्म हुनेछ । महिला साफको खेल तालिका भने सार्वजनिक गरिएको छैन ।