एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी तीनसाता मैदान बाहिर रहने भएका छन् । मेस्सी शनिबार राति सेभियाविरुद्धको खेलमा घाइते भएका थिए ।
नाउ क्याम्पमा खेलको २६ औं मिनेटमा कप्तान मेस्सी घाइते भएका थिए । सेभियाका फ्रान्को भाज्क्वेजसंग जुध्न पुग्दा मेस्सीले दाहिने हातमा चोट बोकेका थिए । उक्त खेल बार्सिलोनाले ४ - २ ले जितेको थियो । मैदान बाहिर निस्कनुअघि मेस्सीले एक गोल समेत गरेका थिए ।
अन्तर्राष्ट्रिय समचार संस्थाहरुको अनुसार मेस्सीको हातको हड्डी भाचिएको छ । र, मेस्सीको हातको चोट निको हुन कम्तिमा ३ साता लाग्नेछ ।
मेस्सी तीन साता बाहिर रहने पुष्टि बार्सिलोनाले समेत गरेको छ ।
हातको चोट ठिक हुन तीन साता बढीको समय लाग्ने भएपछि मेस्सीले एल क्लासिको भिडन्त गुमाउने भएका छन् ।
सिजनको पहिलो एक क्लासिको भिडन्त आगामी २८ अक्टोबरमा हुनेछ । उक्त खेल बार्सिलोनामा हुनेछ ।
पहिलो एल क्लासिको भिडन्तमा मेस्सी नहुने भएपछि रियल मड्रिडलाई भने फाइदा पुगेको छ । यस्तै ११ बर्षपछि पहिलोपटक मेस्सी र क्रिस्टियानो रोनाल्डोबिना एल क्लासिको भिडन्त हुने भएको छ । रोनाल्डो यसै सिजन स्पेन छाडेर युभेन्ट्स गएका छन् ।
यस्तै मेस्सीले च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसंगको दुई खेल समेत गुमाउने छन् ।
मेस्सीले तीन साताको दौरान ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे गरी ६ खेल गुमाउने छन् ।
मेस्सीले महत्वपूर्ण खेलहरु गुमाउने भएपछि बार्सिलोनाका प्रशिक्षक एर्नेष्टो भाल्भर्डेले क्लबलाई ठुलो नोक्सानी पुगेको बताए ।
'यो हाम्रो लागि ठुलो नोक्सान हो, हामीले कठिन प्रतिद्वन्द्वीसंग खेल्दैछौं । तर, हामीसंग अन्य खेलाडी छन्,' प्रशिक्षक भाल्भर्डेले भने ।
मेस्सीले गुमाउने खेल :
अक्टोबर २४ : इन्टर मिलानविरुद्ध (च्याम्पियन्स लिग)
अक्टोबर २८ : रियल मड्रिडविरुद्ध (ला लिगा)
अक्टोबर ३१ : कल्चरल लिओनेसाविरुद्ध (कोपा डेल रे)
नोभेम्बर ३ : रायो भाल्लाकानोविरुद्ध (ला लिगा)
नोभेम्बर ६ : इन्टर मिलानविरुद्ध (च्याम्पियन्स लिग)
नोभेम्बर ११ : रियल बेटिसविरुद्ध (ला लिगा)