एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले एमिएन्सलाई ५ - ० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा ब्राजिलियन फरवार्ड नेयमारलाई विश्राम दिईएपनि पिएसजीले फराकिलो जित निकालेको हो । नेयमारसंगै पिएसजीले थियागो सिल्भा र थोमस म्युनिरलाई समेत विश्राम दिएको थियो ।
तर, पिएसजीको लागि मार्किन्होस, एड्रीएन राबिओट, जुलियन ड्राक्सलर, केलियन एमबाप्पे र मौसा डीयाबीले समान एक एक गोल गरे ।
साबिकको विजेता पिएसजीले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गर्दै फराकिलो जित निकालेको हो ।
जितसंगै लिगमा शीर्ष स्थानमा रहेको पिएसजीले १० खेलमा १० जितसहित ३० अंक जोडेको छ । लिगको दोस्रो स्थानमा रहेको लिलले ९ खेलमा १९ अंक जोडेको छ । पराजित एमिएन्स १० खेलबाट १० अंक जोडेर १७ औं स्थानमा छ ।