एजेन्सी । इटालियन सिरी ए फुटबलमा साबिकको विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युभेन्ट्स जिनोआसंग १ - १ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाडेको हो । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सले खेलको १८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट अग्रता बनाएको थियो ।
योसंगै रोनाल्डो युरोपियन शीर्ष पाँच लिगमा ४ सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले यसअघि रियलबाट ला लिगामा ३११ र म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिगमा ८४ गोल गरेका थिए । उनले युभेन्ट्सबाट पछिल्लो १० खेलमा ५ गोल गरेका छन् ।
तर, रोनाल्डोको गोलबाट सुरुवाती अग्रता बनाएको युभेन्ट्सले अग्रता जोगाउन सकेन । खेलको ३० औं मिनेटमा ड्यानियल बेस्साले गोल गर्दै जेनोआलाई खेलमा फर्काए ।
दोस्रो हाफमा थप गोल हुन् सकेन र खेल १ - १ गोलको बराबरीमा सकियो ।
बराबरी पछि पनि युभेन्ट्स ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थान यथावत राखेको छ । १३ अंक जोडेको जेनोआ लिगको दशौं स्थानमा छ ।
लिगको दोस्रो स्थानमा रहेको नेपोलीको २१ अंक छ । नेपोलीले शनिबार उडीनेसलाई ३ - ० ले हराएको थियो ।