एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार भएको खेलमा सिटीले बर्नलीलाई ५ - ० ले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरो, बर्नार्डो सिल्भा, फर्नानडिन्हो, रियाद महरेज र लोरी सानेले एक एक गोल गरे ।
इदिहाद स्टेडियममा बर्नलीविरुद्ध पहिलो हाफमा एक गोल गरेको सिटीले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।
खेलको १७ औं मिनेटमा अग्युरोको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । ५४ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २ - ० को अग्रता दिलाए ।
खेलको ५६ औं मिनेटमा फर्नानडिन्होले गोल गर्दै सिटीको अग्रता ३ - ० को बनाए । त्यसपछि पनि सिटी गोल गर्न रोकिएन । खेलको ८३ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ४ - ० को बनाए । त्यसपछि खेलको अन्तिम मिनेटमा सानेले गोल गर्दै सिटीलाई ५ - ० को जित दिलाए ।
जितसंगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ९ खेलबाट ७ जितसहित २३ अंक जोडेको छ । सिटीले चेल्सीलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित बर्नली ८ अंक जोडेर नवौं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै टोटेनहम वेष्ट ह्याम युनाइटेडलाई १ - ० ले हराएर तेस्रो स्थानमा उक्लिएको छ । टोटेनहमका लागि एरिक लामेलाले निर्णायक गोल गरे ।
टोटेनहमले ९ खेलबाट २१ अंक जोडेको छ ।