एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साबिकको विजेता वायर्न म्युनिखले सहज जित दर्ता गरेको छ । शनिबार भएको खेलमा वायर्नले वुल्फवर्गलाई ३ - १ ले हराएको हो ।
वायर्नले १० खेलाडीमा सिमित भएपनि वुल्फवर्गलाई उसैको मैदानमा हराएको हो । वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै जेम्स रोड्रिगेजले एक गोल थपे । वुल्फवर्गका वुग वेगहोर्स्टले एक गोल फर्काए ।
खेलको ३० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि वायर्नले २ - ० को अग्रता बनायो । खेलको ५७ औं मिनेटमा आर्जेन रोबेनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि वायर्न १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको ६३ औं मिनेटमा वुल्फवर्गका वेगहोर्स्टले गोल गर्दै खेल २ - १ ल्याए । तर, खेलको ७२ औं मिनेटमा रोड्रिगेजले गोल गरेपछि वायर्नले ३ - १ को जित निकाल्यो ।
जितसंगै वायर्न ८ खेलबाट १६ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । ९ अंक जोडेको वुल्फवर्ग ११ औं स्थानमा छ ।
लिगको शीर्ष स्थानाम बोरुसिया डर्टमण्ड रहेको छ । डर्टमण्डले शनिबार नै स्टुटगार्डलाई ४ - ० ले हराएको हो ।
डर्टमण्डका लागि जाडोन सान्चो, मार्को रिउस, पाको अल्कासर र म्याक्सिमिलियन फिलिपले एक एक गोल गरे ।
जितसंगै डर्टमण्डले ८ खेलबाट २० अंक जोडेर शीर्ष स्थान कब्जा गरेको हो ।