एजेन्सी । फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यान सन् २०२३ सम्म स्पेनिस क्लब एट्लेटिको मड्रिडमै रहने भएका छन् । विश्वकप फुटबलको लागि रुसमा रहेका ग्रिजम्यानले क्लबसँगको सम्झौता थप एक बर्ष लम्बाएका हुन् ।
ग्रिजम्यानसहित अन्य दुई खेलाडीसँगको नयाँ सम्झौताको लागि क्लबले आफ्ना प्रतिनिधिलाई रुस पठाएको थियो । र, ग्रिजम्यान क्लबसँगको सम्झौता थप एक बर्ष बढाउम सहमत भएको क्लबले जनाएको छ । यसअघि ग्रिजम्यान इन्ग्लिश प्रिमियर लिग क्लब र स्पेनिस क्लब बार्सिलोना जाने हल्ला चलेको थियो ।
एट्लेटिकोसँग २६ बर्षिय ग्रीजम्यानको सम्झौता सन् २०२२ सम्म रहेको थियो । ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लब रियल सोसिडाडबाट एट्लेटिको आएका थिए । ग्रिजम्यान क्लबमा रहने भएसँगै क्लबले उनको रिलिज क्लउज समेत बढाएको छ । क्लबले सार्वजनिक नगरेपनि उनको रिलिज क्लउज ८७.५७ मिलियन पाउण्ड रहेको बताइएको छ ।
ग्रिजम्यानसँगै एट्लेटिकोले अन्य दुई फ्रान्सेली खेलाडीसँग नयाँ सम्झौता गरेको बताइएको छ । क्लबले यो सिजनबाट विंगर थोमस लेमरलाई भित्राउने तयारी गरेको छ । मोनाकोका लेमरको मेडिकल समेत भईसकेको छ । त्यस्तै एट्लेटिकोले डिफेन्डर लुकास हर्नान्डेजसँग सन् २०२४ सम्मको लागि नयाँ सम्झौता गरेको बताईएको छ ।
रुसमा जारी विश्वकपमा फ्रान्सले अष्ट्रेलियालाई २ – १ ले हराउदा ग्रिजम्यानले गोल गरेका थिए । यस्तै हर्नान्डेजले पुरै समय खेल्दा लेमर बेन्चमा रहेका थिए ।