एजेन्सी । इटालीका लिजेण्ड गोलकिपर जियानलुइगी बुफोनले फ्रान्सका युवा स्टार केलियन एमबाप्पे बालोन डी ओर अवार्डका लागि हकदार रहेको बताएका छन् ।
फ्रेन्च टेलिभिजनसंग कुरा गर्दै बुफोनले सन् २०१८ को बालोन डी ओरमा एमबाप्पे हकदार रहेको बताए ।
'उनको क्षमता, मैदानमा उनले देखाएको खेल हेर्दा र विश्वकपमा उनले कसरि निर्णायक प्रदर्शन गरे,' बुफोनले भने, 'पक्कै, उनी उपाधिका हकदार हुन । उनको विपरित भन्न सकिन्न ।'
बुफोन र एमबाप्पे अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का टिममेट समेत हुन् । बुफोन यसै सिजन युभेन्ट्सबाट पिएसजी गएका थिए ।
पिएसजीका स्टार एमबाप्पेले रुस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । एमबाप्पे विश्वकपमा उत्कृष्ट युवा खेलाडी समेत बनेका थिए ।
उनी यस पटकको बालोन डी ओरको पहिलो मनोनयमा समेत अटाएका छन् ।
यस्तै बुफोनले एमबाप्पेको खेल्ने शैली आफुले कमै मात्रामा देख्ने गरेको बताउदै इटालीका रोबर्टो बाग्गियो, डेल पिएरो र टोट्टीसंग तुलना गरे ।
'एमबाप्पे असाधारण प्रतिभा भएका खेलाडी हुन् । उनको प्राविधिक पक्ष मैले बिरलै देखेको छु,' बुफोनले भने ।
यस्तै बुफोनले आगामी दिनमा मेहेनत गरे एमबाप्पेले विश्वमा छुट्टै छाप बनाउने बताए ।