एजेन्सी । फ्रेन्च क्लब मोनाकोका मुख्य प्रशिक्षक थिएरी हेनरीले म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाबाट प्रभावित भएर प्रशिक्षक बनेको बताएका छन् ।
मोनाकोले गत साता लियोनार्दो जार्दिमलाई बर्खास्त गर्दै हेनरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । हेनरीले मोनाकोबाटै क्लब फुटबलको करियर सुरु गरेका थिए । हेनरीले शनिबार स्टार्सबर्गविरुद्ध खेलबाट मोनाकोको प्रशिक्षकमा डेब्यु गर्नेछन् ।
मोनाकोका प्रशिक्षक बनेपछि मिडियासंग कुरा गर्दै हेनरीले ग्वार्डीवालाबाट प्रभावित भएरै प्रशिक्षक करियर सुरु गरेको बताए ।
'पेप मेरो लागि निर्देशन कर्ता हो,' हेनरीले भने, 'खेलमा उनको आविष्कार हुन्छ । उहाँ खेलका लागि निकै उत्कृष्ट छन् ।'
फ्रान्सका लिजेण्ड ४१ बर्षीय हेनरीले स्पेनिस क्लब बार्सिलोनामा रहदा ग्वार्डीवालाको प्रशिक्षणमा खेलेका थिए । ग्वार्डीवालाको प्रशिक्षणमा हेनरीले बार्सिलोनाबाट २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए ।
'त्यहाँ कुनै सही वा गलत छैन । उहाँ मेरो लागि सन्दर्भ हो । जब म बार्सिलोनामा उहाँसंग थिए, मैले खेल कसरी खेलाउने भन्ने ज्ञान त्यहाबाट सिके,' हेनरीले थपे ।
प्रशिक्षक हेनरीले खेलको बारेमा कुरा गर्नु परेमा ग्वार्डीवाला अनिदो बस्न सक्ने बताए । उनले खेलको बारे अझै ग्वार्डीवालासंग कुराकानी हुने समेत बताए ।
यस्तै प्रशिक्षक हेनरीले अरुबाट प्रभावित भएपनि खेलमा आफ्नो पन दिन सक्नुपर्ने बताए । हेनरीले भने,'तपाई अन्य मान्छेबाट सिक्नु हुन्छ । तिनीहरुले तपाईलाई प्रेरणा दिन्छ । तर, तपाईले यसमा आफ्नो मिश्रण राख्न आवश्यक छ ।'
आर्सनलका पुर्व स्टार हेनरी यसअघि बेल्जियमको सहायक प्रशिक्षक रहेका थिए ।