झापा । दमक ट्रेनिङ्ग सेन्टरले झापाको धरमपुरमा सम्पन्न दोश्रो फुलबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धरमपुरस्थित फुलबारी खेल मैदानमा भएको फाइनलमा दमकले जिओन स्पोर्टिङ्ग क्लब विर्तामोडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दमकका किस्मत लिम्बु, प्रविन राई, जविशाल क्षेत्री र रोशन थाम्सुहाङ्गले गोल गरेका थिए । दमकका निशान राईको प्रहार विर्तामोडका गोलकिपर देवराज कुरुंवाङ्गले विफल बनाइदिएका थिए ।
विर्तामोडका देवेन्द्र तामाङ, राजकुमार कन्दङ्गवा र विकास तामाङले गोल गरेका थिए । विर्तामोडका पुजन उपरकोटी र दिलेन लोक्तामको प्रहार भने दमकका गोलकिपर योगेश भट्टराईले विफल बनाईदिएका थिए ।
जितसँगै दमकले नगद एक लाख र ट्रफी हात पारेको छ । उपविजेता बनेको विर्तामोडले ५० हजारमा चित्त बुझायो ।
फाइनल खेलको म्यान अफ दि म्याच दमकका गोलकिपर योगेश भट्टराई घोषित भए । उनले नगद २ हजार र ट्रफी हात पारे ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी दमककै सोशन थाम्सुहाङ्गले चुनिए । उनले नगद ५ हाजार र ट्रफी हात पारे ।
विजेता खेलाडीहरुलाई प्रमूख अतिथि तथा अखिल नेपाल फुट्बल संघ एन्फाका उपाध्यक्ष पंकज विक्रम नेम्बाङ्ग,जिल्ला फुट्बल संघका अध्यक्ष भगिरथ आले मामा, समाजसेवी चन्द्रवीर नेम्बाङ्ग लगायतले पुरस्कृत गरे ।
फुलबारी सेवा संगम क्लबले आयोजना गरेको प्रतियोगितामा प्रदेश १ का आठ टिमको सहभागिता रहेको थियो ।