एजेन्सी । ट्युनिसिया र इजिप्टले अर्को बर्ष आयोजना हुने अफ्रीका कप अफ नेसन्स फुटबलमा स्थान बनाएको छ ।
मंगलबार राति भएको खेलमा जित निकाल्दै ट्युनिसिया र इजिप्टले दुई खेल अगाबै अफ्रीका कपमा छनोट भएको हो ।
समूह 'जे' मा रहेको ट्युनिसियाले नाइजरलाई १ - ० ले हरायो । १० खेलाडीमा समेटिएको ट्युनिसियाका लागि यासिन मेरिहले निर्णायक गोल गरे ।
जितसंगै ट्युनिसियाले ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर अफ्रीका कपमा स्थान बनाएको हो । ट्युनिसिया समूहको शीर्ष स्थानमा छ ।
यसै समूहमा रहेको इजिप्टले स्वाजिल्याण्डलाई २ - ० ले हराएर फाइनल चरणको लागि स्थान पक्का गर्यो । इजिप्टलाई जित दिलाउन अहमेद हेगाजी र मार्वन मोसनले एक एक गोल गरे ।
समूहको दोस्रो स्थानमा रहेको इजिप्टले ४ खेलबाट ९ अंक जोडेको छ । एक एक अंक जोडेको स्वाजिल्याण्ड र नाइजर तेस्रो र चौथो स्थानमा छ ।
यस्तै मेडागास्करले पहिलो पटक अफ्रीका कपमा स्थान बनाएको छ ।
मंगलबार राति इक्वेटोरियल गिनीलाई १ - ० ले हराएर मेडागास्करले पहिलोपटक अफ्रीका कपमा स्थान पक्का गरेको हो ।
जितसंगै समूह 'ए' मा रहेको मेडागास्करले ४ खेलबाट १० अंक जोड्दै दुई खेल अगावै अफ्रीका कपमा पुगेको हो ।
यसै समूहबाट सेनेगलले पनि अफ्रीका कपको लागि टिकट काटेको छ । सेनेगलले सुडानलाई ३ - ० ले हराएको थियो । सेनेगलको पनि ४ खेलबाट १० अंक छ ।
आयोजक क्यामरुन यसअघि नै छनोट भईसकेको छ । २४ टोलीले खेल्ने अफ्रीका कप अर्को बर्षको जुन १५ देखी जुलाई १३ सम्म आयोजना हुनेछ ।