काठमाडौं । फुटबल विकासका लागि जापान फुटबल एसोसिएसन (जेएफए) र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच सहकार्य हुने भएको छ ।
जापान भ्रमणमा रहेका एन्फाको टोलीले जेएफएका पदाधिकारीसंग भेटवार्ता गर्दै दुवै राष्ट्रको फुटबल विकासका लागि सहकार्य गर्ने निर्णय गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्र मान तुलाधरले जेएफएका अध्यक्ष तासिमा लगायत जेएफएका पदाधिकारीसंग सोमबार भेट गरेका थिए ।
उक्त भेटमा तल्लो तहबाट फुटबल विकासको लागि सहकार्य गर्ने र दुई संघबीचको सम्बन्ध प्रगाढ बनाउने बिषयमा छलफल भएको थियो । छलफलपछि फुटबल विकासका लागि विभिन्न पक्षमा सहकार्य गर्दै अघि बढ्न दुवै संघ सहमत भएको जेएफएले जनाएको छ ।
जापान भ्रमणको दौरान एन्फा अध्यक्ष शेर्पा र महासचिव तुलाधरले जेएफएको फुटबल कार्यक्रमहरु युवा विकास, प्रशिक्षण शिक्षा र ग्रासरुट फुटबल विकासबारे जानकारी लिएका थिए ।
यस्तै अध्यक्ष शेर्पा र महासचिव तुलाधरले मित्सुबिसु योवा स्पोर्ट्स स्कुलको फुटबल प्रशिक्षण सत्रमा सहभागी भएका थिए । र, स्कुलका विद्यार्थीहरुलाई फुटबलको आधारभूत ज्ञान दिलाउने बिषयमा बुझेका थिए ।
त्यस्तै शेर्पा र तुलाधरले विद्यालयमा फुटबल कार्यक्रम र कृतिम मैदानको व्यवस्थापन गर्ने बिषयमा समेत बुझेका थिए ।