काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिक छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण खेलमा यू-१९ महिला टोलीलाई पराजित गरेको छ ।
हल्चोकमा सोमबार भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय महिला टोलीले यू-१९ टोलीलाई ६ - १ गोल अन्तरले हराएको हो । सिनियर टोलीको जितमा अनु लामा र दिपा न्यौपानेले २/२ गोल गरिन् । यस्तै निरु थापा र विमला चौधरीले १/१ गोल गरिन् ।
एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको तयारीमा रहेका यू–१९ टोलीका लागि रेखा पौडेलले पेनाल्टीबाट एक गोल फर्काइन् ।
ओलम्पिक छनोटमा नेपाली महिला टोली समूह 'सी' मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
नेपालको समूहको छनोट खेल नोभेम्बर ८ देखी ११ सम्म हुनेछ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् । तर, खेल आयोजना हुने स्थलको तय भएको छैन ।
यस्तै थाइल्याण्ड हुने एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटमा नेपाल समूह 'बि' मा रहेको छ । यस समूहमा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेको छ ।
नेपालले पहिलो खेलमा थाइल्याण्डसंग अक्टोबर २४ मा चोनबुरी स्टेडियममा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ मा खेल्नेछ ।
नेपालले छनोटको अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।