काठमाडौं । एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
छनोटको समूह 'बि' मा रहेको नेपालले पहिलो खेलमा आयोजक समेत रहेको थाइल्याण्डसंग खेल्ने भएको हो । यस समूहमा नेपालसहित थाइल्याण्ड, भारत र पाकिस्तान रहेको छ ।
नेपाल र थाइल्याण्डबीचको खेल अक्टोबर २४ मा चोनबुरी स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा भारतसंग अक्टोबर २६ मा खेल्नेछ ।
नेपालले छनोटको अन्तिम खेल पाकिस्तानसंग २८ अक्टोबरमा खेल्नेछ ।
समूह विजेता टोलीले छनोटको दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै पहिलो चरणको छनोटको उत्कृष्ट दुई उपविजेताले पनि दोस्रो चरणमा स्थान बनाउनेछन् । छनोटको पहिलो चरणमा ६ समूहबाट २५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
आगामी अप्रिलमा हुने दोस्रो चरणको छनोटमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसबाट ४ टोलीले एएफसी यू-१९ महिला च्याम्पियनसिप खेल्नेछ । एएफसी यू-१९ महिला च्याम्पियनसिप अर्को बर्ष थाइल्याण्ड मै आयोजना हुनेछ ।
च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भईसकेका छन् ।
छनोटका लागि नेपाली टोली अक्टोबर २२ मा थाइल्याण्ड जानेछन् ।
गत साता भुटानमा भएको साफ यू-१८ महिला च्याम्पियनसिप खेलेकै टोलीका सदस्यहरु थाइल्याण्ड जाने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।