काठमाडौं । आगामी कार्तिकमा दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनर ग्रान्डी इन्टरनेसनल अस्पताल भएको छ ।
पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले सोमबार ग्रान्डीसंग सम्झौता गरेको छ । म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतासंगै ग्रान्डीले पोखरा प्रिमियर लिगका लागि आवश्यक पर्ने डाक्टर, फिजियोथेरापिस्ट उपलब्ध गराउने छ । यस्तै अस्पतालले पीपीएलका खेल संचालन हुने मैदानमा चाहिने स्वास्थ्यकर्मीदेखि मेडिकल सामग्रीहरु उपलब्ध गराउने छ ।
सम्झौतापछि अस्पतालका मेडिकल डाईरेक्टर डा पाण्डेले ग्रान्डीले विगत लामो समयदेखि घाइेत भएका खेलाडीको उपचार गर्दै आएको र पिपिएलसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक लामाले क्रिकेट खेलाडीको उपचारमा ग्रान्डी अस्पतालले दिएको सेवा स्मरण गर्दै पीपीएलसँग सहकार्य गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले लामो समयदेखी राष्ट्रिय टिमका खेलाडीहरुको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनेमा विश्वस्त रहेको बताए ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ । पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । सबै टोलीले आफ्नो मार्की खेलाडी र अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
यस्तै प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता प्रदान गरिसकेको छ ।