काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटको डेब्यु खेलमा दुई विकेट लिएका छन् ।
एपीएल टिम नगरहर लिओपार्डसमा रहेका सन्दीपले आइतबार राति पक्टिया प्यान्थर्सविरुद्धको खेलमा मैदान उत्रदै एपीएलमा डेब्यु गरेका हुन् । र, उनले डेब्यु खेलमा दुई विकेट लिएका छन् ।
मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' खेलेर सन्दीप त्यहिँबाट युएई पुगेका थिए ।
युएईको शारजाहमा सन्दीपले क्यामरोन डेल्पोर्टलाई ६ तथा सिकन्दर राजालाई सुन्य रनमा पेभेलियन फर्काए । सन्दीपले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । तर, सन्दीपले आफ्नो टोलीलाई जित दिलाउन भने सकेनन् । उक्त खेलमा सन्दीपको टिम ७ विकेटले पराजित भयो ।
लिओपार्डसले दिएको १२७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्यान्थर्सले १४ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । प्यान्थर्सका कप्तान मोहमद शाहजादले अविजित ७८ रन जोडे । यस्तै इह्सनुल्लाह जनतले २५ तथा समिउल्लाह शेनवारीले अविजित १९ रन जोडे । लिओपार्डसका सन्दीपले २ र मुजिब उर रहमानले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिओपार्डसले पुरै २० ओभरमा अलआउट हुँदै १२६ रन जोडेको थियो । लिओपार्डसका रहमत साहले ३२ तथा जोनसन चार्ल्सले २२ रन जोडे । कप्तान बेन कटिङले २१ रन जोड्दा सन्दीप सुन्य रनमा अविजित रहे ।
लिओपार्डसलाई सस्तैमा समेट्न प्यान्थर्सका जिउर रहमानले ३ विकेट लिए । त्यस्तै इस्रु उडाना र साहिद अफ्रिदीले समान २/२ विकेट लिए ।
जितसंगै प्यान्थर्स ६ खेलबाट ८ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिओपार्डस ७ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ । अब लिओपार्डसले समूह चरणको अन्तिम खेलमा बल्ख लिजेन्ड्ससंग खेल्नेछ ।