उत्तम रिजाल ।
झापा । मोरङ्गको उर्लाबारी फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै दमक ट्रेनिङ्ग सेन्टर, झापाको धरमपुरमा जारी दोश्रो फुलबारी च्यालेन्ज कप फुटलको फाइनल प्रबेश गरेको छ ।
झापाको शिवसताक्षी धरमपुरस्थित फुलबारी खेल मैदानमा भएको प्रतियोगितामा विजयी टिमकालागि सुन्दर कार्कीले गोल गरेका थिए । उनले पहिलो हाफको ८ औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि एक शुन्यले पछि परेको उर्लाबारीले उत्कृष्ट खेल प्रदर्शन गरेपनि प्राप्त दर्जन बढी अवसर खेर फालेको थियो । अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएपनि अन्तिम समय सम्म उसले गोल गर्न नसक्दा पराजय भोग्नु पर्यो ।
खेलको म्यान अफ दि म्याच विजयी टिमका प्रविन राई घोषित भए । उनले नगर २ हजार र ट्रफी हात पारे ।
फाइनल प्रबेशकालागि सोमबार भोली जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड र जलथल फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो तीन बजे सुरु हुनेछ ।