एजेन्सी । भारतले पाहुना टोली वेष्ट इण्डिजविरुद्धको दुई खेलको टेष्ट क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
आइतबार अन्तिम तथा दोस्रो टेष्टमा वेष्ट इण्डिजलाई १० विकेटले हराएर भारतले सिरिजमा २ - ० ले क्लिन स्विप गरेको हो । यसअघि पहिलो टेष्टमा भारतले एक इनिङस २७२ रनको जित निकालेको थियो ।
हैदरावादमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले पहिलो इनिङसमा अलआउट हुँदै ३११ रन जोडेको थियो । त्यसपछि पहिलो इनिङस थालेको भारतले पहिलो इनिङसमा अलआउट हुँदै ३६७ रन जोडेको थियो । र, पहिलो इनिङमा भारतले झिनो रनको अग्रता बनाएको थियो ।
दोस्रो इनिङसमा वेष्ट इण्डिज ४६ ओभर १ बल खेल्दा १२७ रनमा अलआउट भए पछि भारतले ७२ रनको लक्ष्य पाएको थियो ।
दोस्रो इनिङसमा वेष्ट इण्डिजका सुनिल अम्ब्रिसले ३८ तथा साई होपले २८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । भारतका उमेश यादबले ४ तथा रबिन्द्र जडेजाले ३ विकेट लिए ।
वेष्ट इण्डिजले दिएको ७२ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको भारतले १६ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । भारतका पृथ्वी श र लोकेश राहुलले समान ३३/३३ रन जोडे ।
भारत भ्रमणमा रहेको वेष्ट इण्डिजले अब घरेलु टोलीविरुद्ध पाँच एकदिवसीय सिरिज खेल्ने छ । यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।