एजेन्सी । फ्रान्स तथा युभेन्टसका मिडफिल्डर ब्लेस म्याटुडीले फ्रान्सकै प्रतिभावान युवा खेलाडी केलियन एमबाप्पेले कुनै दिन बालोन डि'ओर अवार्ड जित्ने बताएका छन् ।
रुस विश्वकप विजेता टोलीका सदस्य १९ वर्षे एमबाप्पे यसपटक सो उपाधिको अन्तिम ३० को सूचीमा सामेल भएपनि प्रमुख दाबेदारको रुपमा हेरिएको छैन् ।
तर, रुस विश्वकप विजेता टोलिमै रहेका म्याटुडीले एक अन्तर्वार्तामा एमबाप्पे निकै प्रतिभावान र मिहिनेती रहेको कारण एक दिन यो उपाधि जित्ने बताए ।
म्याटुडीले भने,'उनी अभ्यासमा निकै मिहिनेत गर्छन् जुन कुराको नतिजा उनको खेलमा हेर्न सकिन्छ । हामी उनीसंग खेल्न पाउँदा निकै खुसी छौ।'
म्याटुडीले आफ्नो क्लब र राष्ट्रबाट बालोन डि'ओरको लागि धेरै खेलाडी सूचीमा परेका कारण यसैले जितोस भनेर बताउन भने चाहेनन् ।
'म एउटा खेलाडीलाई समर्थन गरेर अरुसँग सम्बन्ध बिगार्न चाहन्न । सबै भन्दा राम्रो खेल्नेले जितोस्', उनले भने ।
यस्तै म्याटुडीले अन्तर्वार्ताको क्रममा फ्रान्स र युभेन्टसबाट मनोनयनमा परेका अरु खेलाडीहरुको पनि तारिफ गरेका थिए ।