काठमाडौं । आगामी कार्तिकमा दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैंक भएको छ ।
पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आइतबार नबिल बैंकसंग सम्झौता गरेको छ । म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र नबिल बैंकका प्रमुख कार्यकार्य अधिकृत (सिइओ) अनिल केशरी शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि बोल्दै सिइओ शाहले क्रिकेट खेल मात्र नभई युवाहरुलाई जोड्ने कार्य गरिरहेको बताए ।
‘पोखरा प्रिमियर लिगको बैकिङ पार्टनर हुन पाएकोमा हर्षित छौं । पिपिएलमा सहभागी ६ वटै सहरमा क्रिकेटको माहोल ल्याउनेमा पनि विश्वस्त छु,' सिइओ शाहले भने, 'नेपाली युवाका लागि क्रिकेट खेल मात्र नभइ सबैलाई एकजुट बनाउने माध्यमको बनिरहेको छ ।'
यस्तै कार्यक्रममा बोल्दै क्रिकेट टिमका कप्तान पारस खड्काले पिपिएलले पोखरालाई क्रिकेट हबको रुपमा विकास गर्न आधार तयार गर्ने बताए । कप्तान खड्काले भने, ‘पिपिएल नेपाली क्रिकेटका लागि नयाँ सुरुवात हो । पिपिएलले पोखरा सहरलाई उचाइमा पुर्र्याउने छ । पोखरालाई क्रिकेट हब बनाउने पनि सहयोग पुग्ने छ ।’
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ । पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । सबै टोलीले आफ्नो मार्की खेलाडी र अक्सनबाट खेलाडी छनोट गरिसकेको छ ।
यस्तै प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता प्रदान गरिसकेको छ ।