एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीका स्ट्रार्इकर इडेन हजार्डले क्लबका पुर्व प्रशिक्षक जोसे माउरिन्होसंग फेरी काम चाहेको बताएका छन् । बेल्जियमका २७ बर्षिया स्ट्रार्इकरले सन् २०१२ मा चेल्सी आएका थिए ।
माउरिन्होकै नेतृत्वमा उनले सन् २०१४-१५ को सिजनमा प्रिमियर लिगको उपाधि उचालेका थिए ।
माउरिन्हो यति बेला म्यान्चेष्टर युनाईटेडमा रहेका छन् । चेल्सीले प्रिमियर लिगको खेलमा आगामी शनिबार म्यान्चेष्टर युनाईटेडसंग प्रतिस्पार्धा गर्दैछ ।
‘यदी अहिले मलाई एक प्रशिक्षक, जो संग फेरी म काम गर्न चाहन्छु भनेर सोधियो भने म भन्नेछु, माउरिन्हो ।’ हजार्डले भनेका छन् ।
हजार्डले माउरिन्हो धेरै रक्षात्मक प्रशिक्षक रहेको बिषयमा समेत खण्डन गरेका छन् ।
‘माउरिन्हो सिटी प्रशिक्षक पेप ग्वार्डिओला जस्तो साहसी थिएनन् । तर जब हामी च्याम्पियन बनेका थियौ । त्यो समय धेरै गोल गरेर राम्रो खेलेका थियौ ।’ उनले भने ।
हजार्ड र माउरिन्होले दुई बर्ष भन्दा बढी समय संगै काम गरे । चेल्सीले सन् २०१४-१५ मा उपाधि जित्ने क्रममा उनले १४ प्रिमियर लिग गोल गर्दै प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर्स अफ द ईयर समेत घोषित भएका थिए ।
तर माउरिन्हो डिसेम्बरमा प्रशिक्षकबाट बर्खास्त भएका थिए । तलिकाको १६ औ स्थानमा रहेपछि उनलाई क्लबले बर्खास्त गरेको थियो । त्यो अवस्थामा २४ खेलमा हजार्ड गोल गर्न समेत असमर्थ भएका थिए ।
‘१२ बर्षमा मेरालागि मात्र एक सिजन खराब रह्यो । माउरिन्होको नेतृत्वमा पछिल्लो ६ महिनाको समय त्यही थियो । त्यो असफलताको जिम्मेवार म पनि थिए ।’ हजार्डले थपे ।