काठमाडौं । फिफा पूर्व सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुलाई रेफ्री कोर्षमा सहभागिता हुनबाट बन्चित गरेको आरोप लगाएका छन् ।
रेफ्री गिरीले शनिबार पत्रकार सम्मेलन गर्दै फिफाबाट स्वीकृत आएपनि एन्फाको कारण थाइल्याण्डमा जारी कोर्ष फर रेफ्री इन्स्ट्रक्टर' सहभागिता जनाउन नपाएको बताए ।
'फिफाले कोर्षको लागि मलाई पत्र पठाएर आउन भनेको थियो । मैले एन्फा प्रवक्ता किरण राईलाई यस्तो चिठी आएको छ म के गरौं भनेर सोधे । उहाँले इमेल पठाउनुस म अध्यक्षसंग कुरा गर्छु भन्नु भयो । उहाँले अध्यक्षसंग कुरा गर्नु भयो,' रेफ्री गिरीले पत्रकार सम्मेलनमा भने, 'त्यसपछि उहाँले तपाईहरुलाई व्यक्तिगत चिठी आएको, त्यहि अनुसार तयारी गर्नुस भन्यो । तर, त्यहाँ पुगेपछि एन्फाले अन्यलाई सिफारिस गरेको जानकारी भयो । त्यसपछि एन्फा अध्यक्षसंग पटक पटक कुरा भयो । चिठी पठाउने कुरा भयो । तर, एक दुई घण्टा बसेपछि एन्फा प्रवक्ताले हामी चिठी पठाउदैनौ । तपाई आफ्नो हिसाब गर्नुस भन्यो ।'
कोर्षका लागि आफु अक्टोबर ८ मा थाइल्याण्ड पुगेको रेफ्री गिरीले बताए । कोर्ष अक्टोबर ९ देखी सुरु भएर आइतबार सकिदैछ । तर, परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुग्न सफल भएका पदाधिकारीको रवैयाका कारण विदेशी भुमिमा आफुमा अपमानित हुनुपरेको उनले बताए ।
'फिफाले मलाई किन बोलाईयो ? किन नेपालबाट बैंकक पुराएर दुर्व्यबहार गरियो,' रेफ्री गिरीले थपे, 'मैले यो ३२ वर्ष रेफ्री गर्दाको इतिहासमा सबैभन्दा नमज्जा र खल्लो लागेको दिन थियो । यो बिषयमा फिफासंग कुरा गर्नेछु ।'
यस्तै रेफ्री गिरीले आफुसहित अन्य तीन जनालाई बोलाएको तर त्यस ठाउमा अन्य रेफ्रीहरु सहभागिता भएको समेत बताए । रेफ्री गिरीले फिफाले आफुसहित सुरेन्द्र सिख्राकार र कल्पना शर्मालाई मनोनित गरेको समेत बताए । तर, एन्फाले उक्त कोर्षको लागि लव खत्री र शैलेश जोशीलाई पठाएको बताए । गिरीले रेफ्री कल्पनालाई पनि एयरपोर्टबाट फर्काइएको जानकारी भएको बताए ।
रेफ्री गिरीले एन्फाले आफुलाई पूर्वाग्राही तरिकाले कोर्ष गर्नबाट बन्चित गरेको तर के कारणले गरिएको त्यो जानकारी नभएको बताए ।
रेफ्री गिरीले थपे, 'पूर्वाग्राही तरिकाले गरेको हुनसक्छ । यसलाई सक्ने भन्ने हिसाबले नै गरेको हो । नत्र मैले कै गरेको छु जस्तो लाग्दैन ? परिवर्तनको लागि उहाँहरु आएको हो । 'एन्फा निर्वाचन अघि जिल्लामा (मोरङ) चुनाव लडेको थिए त्यहाँ हारेको थिए । त्यसपछि केन्द्रमा म आईन् । उहाँहरुलाई ए, हाम्रो यो बिपक्षि हो भन्ने भयो होला ।'
रेफ्री गिरीले सन् १९९७ देखि २०११ सम्म फिफा सहायक रेफ्री भएर काम गरेका थिए । हाल गिरी रेफ्री इन्स्ट्रक्टरको रुपमा काम गरिरहेका छन् ।