काठमाडौं । फ्रेन्चाईज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगसंग सुजुकी मोटरसाईकल एशोसियट पार्टनरको रुपमा गाँसिएको छ । नेपाली क्रिकेट ईतिहासकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रुपमा दाबी गरिएको पीपीएललाई सुजुकी मोटरसाईकलको आधिकारिक बिक्रेता भिजी अटोमोबाईलले प्रायोजन सम्झौता गरेको छ ।
सम्झौता अनुसार भिजी अटोमोबाईलले पीपीएललाई तीन थान मोटरसाईकल उपलब्ध गराउनेछ । सो मोटरसाईकल प्रतियोगिताका तीन विधागत तर्फका उत्कृष्ट खेलाडीले प्राप्त गर्नेछन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाका अनुसार प्रतियोगिताको प्लेयर अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले १ सय ५५ सिसीको सुजुकी जिक्सर मोटरसाईलक प्राप्त गर्नेछन् ।
नेपाली क्रिकेट ईतिहासमा विधागततर्फका उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्न लागेको यो पहिलो पटक हो । शनिबार एक कार्यक्रमकाबीच आयोजक कम्पनीका प्रबन्ध निर्देशक लामा र भिजी अटोमोबाईलका मार्केटिङ म्यानेजर नवराज कोईरालाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
६ फ्रेन्चाईज शहर समावेश प्रतियोगिता कात्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा हुदैछ ।