काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले फेरी विश्वकप खेल्ने सपना रहेको बताएका छन् । विश्व टी ट्वान्टी एसिया छनोट समुह बीको विजेताको रुपमा स्वदेश फर्किए लगत्तै सञ्चारकर्मीसंग कप्तान खड्काले सो कुरा बताएका हुन् ।
‘फेरी विश्वकप खेल्ने सपना छ । पहिलो चरण पार गरेका छौ । अब दुई चरण बाँकी छ ।’ उनले भने ।
मलेसियामा छनोट प्रतियोगितामा राम्रो प्रर्दशन भएको बताउदै उनले खेलाडीले क्षमता अनुसारको प्रर्दशन गरेको बताए । विश्वकप छनोटको अगाडीको बाटो निकै चुनौतीपुर्ण रहेको बताउदै उनले त्यसकालागि अहिलेदेखिनै तयारीमा लाग्नुपर्ने उल्लेख गरे ।
‘अब ७ टोलीले खेल्ने एसियन छनोट सजिलो हुने छैन । टी ट्वान्टी ढाँचामा कुनैपनि टिमले नतिजा निकाल्न सक्छ । त्यसकालागि अहिलेदेखिनै तयारी अघि बढाउनपर्छ ।’ खड्काले भने ।
नेपाली टोलीको प्रर्दशनमा सुधार ल्याउन अब नयाँ पद्वतीको अभ्यासमा जानुपर्ने कप्तान खड्काको भनाई छ ।
‘अब पनि बलिङ, फिल्डिङ र ब्याटिङमा बिशेषज्ञ प्रशिक्षक ल्याएर तयारी अघि बढाउन सकेनौ भने अगाडीको छनोट प्रतियोगिता निकै कठिन हुनेछ ।’ उनले थपे ।