काठमाडौं । विश्व टी ट्वान्टी एसिया छनोट समूह बीको विजेताको रुपमा नेपालको राष्ट्रिय क्रिकेट टोली स्वेदश फर्किएको छ । मलेसियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टिम आज अपरान्ह काठमाडौंमा आईपुगेको हो ।
नेपाली टोलीलाई खेलकुद पदाधिकारी सहित समर्थकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । छनोट चरणको अन्तिम खेल रद्व भएपछि नेट रन रेटका आधारमा नेपालले छनोट उपाधि जितेको थियो ।
उपाधिसंगै नेपाल विश्व टी(ट्वान्टी एसिया छनोट समूह ’बी’ को विजेताको रुपमा दोस्रो चरणको छनोटमा समेत पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ ।