काठमाडौं । मलेसियामा सम्पन्न आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' को विजेता बनेको नेपाली टोली भोलि (शनिबार) स्वदेश फर्कने भएका छन् ।
नेपाली टोली शनिबार अपरान्ह १२:१५ मा नेपाल आईपुग्नेछ । छनोट अन्तर्गत शुक्रबार सिंगापुरविरुद्धको खेल रद्द भएपछि नेपाल विजेता बनेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक पाएका छन् ।
नेपाल र सिंगापुरले एक एक अंक पाएसंगै छनोटमा दुवैले ६ खेलबाट समान ११/११ अंक जोडन सफल भयो । तर, नेट रन रेटको आधारमा नेपाल अघि रहदै विजेता बनेको थियो ।
योसंगै नेपाल विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' को विजेताको रुपमा दोस्रो चरणको छनोटमा पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।