काठमाडौं । ट्रयाक एण्ड फिल्डका चर्चित जमैकन धावक उसेन बोल्ट फुटबलमा समेत जम्ने देखिएको छ । व्यावसायिक फुटबल करियरको लागि अष्ट्रेलियामा रहेका बोल्टले अष्ट्रेलियाको शीर्ष डिभिजन क्लबबाट खेल्ने मौका पाएका छन् ।
बोल्टले अष्ट्रेलियाको 'ए' डिभिजनको क्लब सेन्ट्रल कोष्ट मरिनर्सबाट खेल खेल्दै गोल समेत गरेका छन् । शुक्रबार म्याकर्थर साउथ वेष्टविरुद्ध मैत्रीपूर्ण खेलमा बोल्टले दुई गोल गरेका छन् । उक्त खेलमा बोल्टको टिम सेन्ट्रल कोष्टले ४ - ० ले जितेको थियो ।
जितपछि बोल्टले आफ्नो ट्रेडमार्क लाइटनिङ पोज दिएका थिए । बोल्टको यो पहिलो खेल समेत रहेको थियो ।
खेलपछि बोल्टले सुरुवातमै दुई गोल गर्दा आफुलाई निकै खुसी लागेको बताए ।
'मेरो पहिलो सुरुवात र दुई गोल, यो मेरो लागि निकै राम्रो हो,' बोल्टले भने, 'म यस क्लबमा रहदा खुसी छु र म आफुलाई सुधार गर्दै लैजाने छु ।'
आठ पटकको ओलम्पिक च्याम्पियन ३२ बर्षिय बोल्ट गत अगष्टबाट यस क्लबमा रहदै आएका छन् । बोल्टलाई सेन्ट्रल कोष्टले अनिश्चितकालीन समयको लागि प्रशिक्षणको मौका दिएको थियो ।
गत बर्ष ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका बोल्टले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमण्डबाट प्रशिक्षण लिएका थिए । यस्तै उनले नर्वे र दक्षिण अफ्रीकाका क्लबमा समेत ट्रायल र अभ्यास गरेका थिए । बोल्टले यसअघि आफ्नो मनपर्ने इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट समेत फुटबल खेल्न खोजेका थिए ।
गत बर्षको अगस्टमा विश्व च्याम्पियनसिप खेलेपछि बोल्टले ट्रयाक एण्ड फिल्डबाट सन्यास लिएका थिए । ह्यामस्ट्रिंङ्ग भएपछि लण्डनमा सम्पन्न च्याम्पियनसिपमा बोल्ट आफ्नो फेबरेट दौड १०० मिटरमा स्वर्ण जित्न असफल भएका थिए । उनले कास्य पदक मात्र जितेका थिए ।
शताब्दीकै उत्कृष्ट धावक मानिने बोल्टले ओलम्पिक खेलकुदमा मात्र ८ पटक स्वर्ण पदक जितेका छन् । बोल्ट ट्रयाक एण्ड फिल्डमा हालसम्मकै सफल धावक समेत हुन् । त्यस्तै उनको नाममा १०० मिटरमा विश्व किर्तिमान रहेको छ ।