काठमाडौं । नेपाल आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' को विजेता बनेको छ । मलेसिया सम्पन्न छनोट अन्तर्गत सिंगापुरविरुद्धको खेल रद्द भएपछि नेपाल विजेता बनेको हो ।
क्वालालम्पुरस्थित बायुमास ओभलमा सिंगापुरले दिएको ८२ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहदा खेल बर्षाको कारण रोकिएको थियो । वर्षाले खेल रोकिदा नेपालले पहिलो ओभरको ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । नेपालका अनिल साह सुन्य रनमा आउट भएका थिए ।
त्यसपछि वर्षाको कारण खेल भएन । र, अम्पायरले नेपाल र सिंगापुरबीचको खेल रद्द भएको घोषणा गरेको थियो । खेल रद्द भएसंगै दुवै टोलीले १-१ अंक पाएका छन् ।
नेपाल र सिंगापुरले एक एक अंक पाएसंगै छनोटमा दुवैले ६ खेलबाट समान ११/११ अंक जोडन सफल भयो । तर, नेट रन रेटको आधारमा नेपाल अघि रहदै विजेता बन्यो ।
योसंगै नेपाल विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' को विजेताको रुपमा दोस्रो चरणको छनोटमा पुगेको छ । नेपालसंगै सिंगापुर उपविजेता र मलेसिया पनि शीर्ष तीनमा रहदै दोस्रो चरणको एसिया छनोटमा पुगेको छ ।
एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । यस छनोटमा युएई, कुवेत र कतारले यसअघि नै स्थान बनाईसकेको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् । अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रनमा समेटिएको थियो । नेपाली बलर हाबी भएपछि सिंगापुरका ब्याट्सम्यानहरु सस्तैमा समेटिए ।
सिंगापुरका रेनद्रन चन्द्रमोहनले २५ तथा मनप्रित सिंह र सिधान्तले समान १०/१० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
सिंगापुरविरुद्ध ४ विकेट लिएसंगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै बसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । यसअघि बसन्तले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए ।