काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' को अन्तिम खेलमा सिंगापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।
बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुर १७ ओभर ३ बलमा अलआउट हुँदै ८१ रनमा समेटियो । नेपाली बलर हाबी भएपछि सिंगापुरका ब्याट्सम्यानहरु सस्तैमा समेटिए । सिंगापुरका रेनद्रन चन्द्रमोहनले २५ तथा मनप्रित सिंह र सिधान्तले समान १०/१० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
सिंगापुरलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले चार विकेट लिए । यस्तै सोमपाल कामी र बसन्त रेग्मीले समान २/२ विकेट लिए ।
सिंगापुरविरुद्ध ४ विकेट लिएसंगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।
सन्दीपले जारी प्रतियोगितामा २४ विकेट लिंदै बसन्त रेग्मीको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । यसअघि बसन्तले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए ।
अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेलिरहेको हो । नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ ।
एसिया छनोट समूह 'बी' बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ । किनकी यस खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ ।
अन्तिम खेलअघि नेपाल र सिंगापुरले समान खेलबाट समान अंक जोडेको छ । नेपाल र सिंगापुरले समान ५/५ खेलबाट समान १०/१० अंक जोडेको छ । तर, नेट रन रेटमा नेपाल अघि छ ।
सिंगापुरविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित रहदै विजेता बन्नु हुनेछ । यता, सिंगापुरको लक्ष्य पनि त्यहिँ हुनेछ ।
प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछैन । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन ।