काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत सिंगापुरविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले सुखद सुरुवात गरेको छ । सिंगापुरविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका सोमपाल कामीले सिंगापुरको दुई विकेट झारेका छन् । सिंगापुरका अरित्र दत्त ४ तथा चामिन्दा रुवान ६ रनमा आउट भए । र, सिंगापुरले २ ओभर २ बलमा २ विकेट गुमाएर १५ रन जोडेको छ ।
अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेलिरहेको हो । नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ ।
एसिया छनोट समूह 'बी' बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ । किनकी यस खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ ।
अन्तिम खेलअघि नेपाल र सिंगापुरले समान खेलबाट समान अंक जोडेको छ । नेपाल र सिंगापुरले समान ५/५ खेलबाट समान १०/१० अंक जोडेको छ । तर, नेट रन रेटमा नेपाल अघि छ ।
सिंगापुरविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित रहदै विजेता बन्नु हुनेछ । यता, सिंगापुरको लक्ष्य पनि त्यहिँ हुनेछ ।
प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछैन । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन ।