काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत सिंगापुरविरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो ।
अघिल्ला पाँच खेलमा लगातार जित निकालेको नेपालले अन्तिम खेलमा सिंगापुरसंग खेल्न लागेको हो । नेपाल र सिंगापुरबीचको यस फाइनल सरहको खेल हुनेछ ।
एसिया छनोट समूह 'बी' बाट दोस्रो चरणको छनोटमा पुगिसकेको नेपाल र सिंगापुरको लागि यो प्रतिस्पर्धा उपाधिका लागि हुनेछ । किनकी यस खेलको विजेता प्रतियोगिताको विजेता बन्नेछ ।
अन्तिम खेलअघि नेपाल र सिंगापुरले समान खेलबाट समान अंक जोडेको छ । नेपाल र सिंगापुरले समान ५/५ खेलबाट समान १०/१० अंक जोडेको छ । तर, नेट रन रेटमा नेपाल अघि छ ।
सिंगापुरविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित रहदै विजेता बन्नु हुनेछ । यता, सिंगापुरको लक्ष्य पनि त्यहिँ हुनेछ ।
प्रतियोगिताको प्रदर्शन र अघिल्ला नतिजा हेर्दा सिंगापुरविरुद्ध जित निकाल्न नेपाललाई कठिन हुनेछैन । पछिल्लो टी-ट्वान्टीको प्रतिस्पर्धामा नेपाललाई सिंगापुरले हराउन सकेको छैन ।
नेपालले टी-ट्वान्टीमा सिंगापुरविरुद्ध पछिल्लो पटक सन् २०१३ मा खेलेको थियो । एसीसी टी-ट्वान्टी अन्तर्गत टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले १२१ रनको जित निकालेको थियो ।
त्यसअघि सन् २००९ मा भएको एसीसी टी-ट्वान्टीमा नेपालले ९ विकेटको जित निकालेको थियो ।
गत महिना भएको ५० ओभरको खेलमा पनि नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो ।
यस छनोटबाट नेपाल र सिंगापुरले दोस्रो चरणको छनोट स्थान बनाउदा अर्को एक टोलीको तय हुन बाँकी रहेको छ ।
यस छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
१४ राष्ट्रले खेल्ने ग्लोबल छनोटको शीर्ष ६ टिमले विश्वकपमा स्थान बनाउनेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।