एजेन्सी । युएई भ्रमणमा रहेका अष्ट्रेलिया र पाकिस्तानले पहिलो टेष्ट क्रिकेट बराबरी खेलेका छन् । पहिलो टेष्ट बराबरी भएसंगै दुई खेलको सिरिजको विजेता अन्तिम खेलले तय हुने भएको छ ।
दुबईमा पाकिस्तानले दिएको ४६२ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको अष्ट्रेलियाले टेष्टको अन्तिम दिन बिहिबार ८ विकेटको क्षतिमा ३६२ रन जोडेपछि पहिलो टेष्ट बराबरीमा सकिएको हो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले १४१ रनको शतकीय इनिङस खेले । यस्तै टर्भिस हेडले ७२, टिम पिनेले अविजित ६१ रन जोड्दा आरोन फिन्चले ४९ रन जोडे । पाकिस्तानका यासिर साहले ४ तथा मोहमद अब्बासले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङसमा ४८२ रन जोडेको थियो । पहिलो इनिङसमा पाकिस्तानका मोहमद हाफिजले १२६ र हरिस सोहिलले ११० रनको शतकीय इनिङस खेलेका थिए ।
यस्तै दोस्रो इनिङसमा ६ विकेटको क्षतिमा १८१ रन जोड्दै पाकिस्तानले इनिङस समाप्तिको घोषणा गर्दै अष्ट्रेलियालाई ४६२ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले पहिलो इनिङसमा अलआउट हुँदै २०२ रन जोडेको थियो ।
दुई टोलीबीचको दोस्रो तथा अन्तिम टेष्ट आगामी मंगलबार हुनेछ । यस्तै तीन खेलको टी-ट्वान्टी सिरिज हुनेछ ।