उत्तम रिजाल । झापा । आयोजक फुलबारी सेवा संगम क्लब धरमपुरलाई टाइब्रेकरमा पाखा लगाउँदै जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड झापाको शिवसताक्षी १ धरमपुरमा जारी दोश्रो फुलबारी च्यालेन्ज कप फुट्बलको सेमिफाइनल प्रबेश गरेको छ ।
निर्धारित समय सम्म १–१ गोलको बराबरी भएपछि भएको टाइब्रेकरमा जिओनले ३–२ ले बाजी मारेको हो । विजयी टिमकालागि राजकुमार कन्दङ्गवा, अभिषेक राजबंशी र गोलकिपर मनोज प्रधानले गोल गरेका थिए ।
उता पराजित आयोजक फुलबारीका तर्फबाट अशोक जवेगु र विनोद चेम्जोङ्गको प्रहार मात्र गोलमा परिणत भएको थियो ।
खेलमा अग्रता आयोजकले पहिलो हाफको तेश्रो मिनेटमा नै लिएको थियो । प्रमोद राईले डिबक्स भित्रबाट दर्शनिय गोल गरेका थिए । तर पहिलो हाफकै इन्जुरी समयको अन्त्यतिर जिओनका दिवस गिरीले बराबरी गोल गरेका थिए ।
पहिलो हाफ १–१ को बराबरी खेलेका दुबै टिम दोश्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका गोल किपर मनोज प्रधान भए । उनले नगद २ हजार र ट्रफी हात पारे ।
शुक्रबार दमक ट्रेनिङ्ग सेन्टर दमक र शिवसताक्षी स्पोर्टिङ्ग क्लब झिलझिले विच प्रतिस्पर्धा हुनेछ । खेलको विजेताले नगद एक लाख र उपविजेताले नगद ५० हजार रुपैया प्राप्त गर्ने छन् ।