काठमाडौं । पहिलो पथरी शनिश्चरे खुला नकआउट फुटबल प्रतियोगितामा पथरी स्पोर्टिङ क्लब विजयी भएको छ । बिहिबार भएको खेलमा पथरीले पेनाल्टी सुटआउटमा दमक फुटबल क्लबलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो ।
खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो । टाईब्रेकरमा पथरी ४–२ ले विजयी बन्यो ।
पेनाल्टीमा पथरीका साईमन लिम्बु, सुमन राई, अरुण राई र मिन धिमालले गोल गरे । दमकका रोशन लिम्बुको प्रहार गोलकिपरले बचाएका थिए भने प्रविन राईको प्रहार बाहिरिएको थियो । सुशान कार्की र निशान राईले गोल गर्न सफल भएको थियो ।
विजयी टोलीका मिन धमाल म्यान अफ दी म्याच चुनिए । शुक्रबार पहिलो सेमिफाईनलमा बेलबारी र लेटाङबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य सुमन बिकेले बताए ।