काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले अब दुई वटा राष्ट्रिय फुटबल टिम बनाउने बताएका छन् । फुटबलमा खेलाडीको सहभागिता वृद्धि गर्दै प्रतिस्पर्धा बढाउन उनले दुई वटा राष्ट्रिय टिम बनाउने योजना अघि सारेका हुन् ।
काठमाडौंको लाजिम्पाटमा बिहिबार आयोजित कार्यक्रममा अध्यक्ष शेर्पाले अब चाँडै योजनाले आकार लिने दाबी गरे ।
‘अब रातो र निलो गरेर दुई वटा राष्ट्रिय टिम बन्छ । अहिले जसरी २०–२२ जनाको टिम बनेको छ । अब ४०–५० जनाको टिम बन्नेछ ।’ उनले थपे, ‘सो टिमका उत्कृष्ट खेलाडीले मात्र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालबाट सहभागि हुनेछन् ।’
एन्फाले अब राष्ट्रिय टिमको समेत रिजर्भ टिम बनाउने योजना अघि सारेको हो । लामो समय फुटबल गतिविधि अघि बढ्न नसक्दा नयाँ खेलाडी राष्ट्रिय टिममा आउन सकेका छैनन् ।
अध्यक्ष शेर्पाले ए डिभिजन लिगमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई अब राष्ट्रिय टिममा समावेश गरेर टिम बनाउने बताएका हु्न् ।