उत्तम रिजाल ।
झापा । झापाको शिवसताक्षी धरमपुरमा आजबाट शुरु भएको दोश्रो फुलबारी च्यालेन्ज कप फुटबल प्रतियोगितामा उर्लाबारी फुटबल क्लब मोरङ्ग विजयी भएको छ ।
उसले धुलाबारी फुटबल क्लब झापालाई १-० गाेल अन्तरले पराजित गरेकाे हाे । विजयी टिमकालागि जर्सी नम्बर ११ का रोमन दनुवारले गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको उर्लाबारीकालागि दोश्रो हाफको २५ औं मिनेटमा रोमनले गोल गरेका थिए ।
उनले जर्सी नम्बर ७ का अरुण लिम्बुले डिबक्स भित्र दिएको पासमा बललाई जाली चुमाएका थिए । खेलको शुरुवातदेखिनै उत्कृष्ट प्रदर्शन गरेका दुबै टिमले गोल गर्ने आधा दर्जन बढी अबसर खेर फालेका थिए । खेलको म्यान अफ दि म्याच विजयी टिमका जर्सी नम्बर ७ का अरुण लिम्बु भए ।
उनले नगद २ हजारसँगै ट्रफी हात पारे । उनलाइ सो पुरस्कार शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार शेर्माले प्रदान गरेका थिए ।
प्रतियोगितामा भोलि जिओन स्पोर्टिङ्ग क्लब विर्तामोड र आयोजक फुलबारी सेवा संगम क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद एक लाख र उप–विजेताले नगद ५० हजार र ट्रफी हात पार्नेछन् ।