काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत चीनले नेपाललाई जितका लागि २७ रनको लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीन १३ ओभरमा अलआउट हुँदै २६ रनमा समेटियो ।
चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए ।
नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३/३ विकेट लिए ।
अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गरिरहेको हो ।
नौलो प्रतिद्वन्द्वी चीनविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार पाँचौ जित निकाल्नु हुनेछ । छनोटमा हालसम्मको नतिजा र प्रदर्शन हेर्दा कमजोर टिम चिनविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्ने छैन । किनकि प्रतियोगितामा नेपालले लगातार जित निकालिरहेको छ भने चीनले अहिलेसम्म जित निकाल्न सकेको छैन ।
छनोटमा नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । नेपालले दुई खेल अगाबै दोस्रो चरणको छनोटमा समेत स्थान पक्का गरिसकेको छ ।
नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला क्रिकेटमा नेपाल र चीनबीच प्रतिस्पर्धा भईसकेको छ । तर, पुरुष क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
चीनपछि नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ ।