काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत पाँचौ खेलमा नेपालले अहिले चीनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा नेपालले टस जितेर चीनलाई सुरुवाती ब्याटिङमा पठाएको छ । र, नेपालविरुद्ध चीनले खराब सुरुवात गरेको छ ।
नेपालले दोस्रो ओभरमै चीनको पहिलो विकेट लिएको छ । नेपाललाई ललित राजवंशीले पहिलो विकेट दिलाए । चीनले मात्र ६ रन जोड्दा ओपनर निङ सनलाई सुन्य रनमा गुमाएको हो ।
अघिल्ला चार खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा पुगिसकेको नेपालले पाँचौ खेलमा चीनको सामना गरिरहेको हो ।
नौलो प्रतिद्वन्द्वी चीनविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार पाँचौ जित निकाल्नु हुनेछ । छनोटमा हालसम्मको नतिजा र प्रदर्शन हेर्दा कमजोर टिम चिनविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्ने छैन । किनकि प्रतियोगितामा नेपालले लगातार जित निकालिरहेको छ भने चीनले अहिलेसम्म जित निकाल्न सकेको छैन ।
छनोटमा नेपाल ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । नेपालले दुई खेल अगाबै दोस्रो चरणको छनोटमा समेत स्थान पक्का गरिसकेको छ ।
नेपाल र चीनको पुरुष टिमले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् । महिला क्रिकेटमा नेपाल र चीनबीच प्रतिस्पर्धा भईसकेको छ । तर, पुरुष क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।
चीनपछि नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।