काठमाडौं । ए डिभिजन क्लब सिग्नेचर मनाङ मस्र्याङ्दी र विभागीय टिम एपीएफले गभर्नस गोल्डकप खेल्ने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले कात्तिकको पहिलो साता भारतमा हुने प्रतियोगितामा मनाङ र एपीएफ क्लबलाई सहभागि गराउने निर्णय गरेको हो ।
सिक्किम फुटबल संघले आयोजना गर्ने प्रतियोगिता करिब ३ दशक अगाडीदेखि सञ्चालन हुदै आएको छ । नेपालको न्युरोड टिम एनआरटी र थ्रीस्टारले प्रतियोगिताको उपाधि जितिसकेका छन् ।
एन्फाको आपतकालिन बैठकले कात्तिक ६ गतेबाट १७ गतेसम्म भारतको सिक्किममा हुने प्रतियोगितामा नेपालका दुई क्लबलाई सहभागि गराउने निर्णय गरेको हो ।
यस्तै, बैठकले भुटानमा भएको साफ यु–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपालको महिला टिमलाई जनही ५० हजार दिने निर्णय गरेको छ ।
उपाधि भिडन्तमा बंगलादेशसंग पराजित भएको नेपाली टिमलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन स्वरुप दिने निर्णय भएको एन्फाले जनाएको छ ।