काठमाडौं । नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' मा लगातार चौथो जित निकालेको छ ।
मंगलबार भएको खेलमा भुटानलाई ११७ रनले हराएर नेपालले लगातार जित हात पारेको हो ।
नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको भुटान १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटियो ।
भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले अर्वाधिक ११ रन जोडे । त्यस्तै संजिवन गुरुङले ६ रन जोड्दा रमेश गुरुङ ४ रनमा अविजित रहे । भुटानका चार खेलाडी सुन्य रनमा आउट भए ।
नेपालका ललित नारायण राजवंशीले ४ रन खर्चेर ३ विकेट लिए । यस्तै सन्दीप लामिछानेले ६ रन खर्चदै ३ विकेट नै हात पारे । त्यस्तै बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले एक/एक विकेट लिए ।
यसअघि युकेएम वाईएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभरमा ४ विकेट गुमाएर १५० रन बनाएको थियो ।
नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे ।
त्यस्तै नेपालका अनिल कुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए ।
भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए ।
जितसंगै शीर्ष स्थानको नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । र, नेपालले एसिया छनोटको दोस्रो चरण पक्का गरेको छ । अब नेपालले बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।
छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।