काठमाडौं । आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह 'बी' अन्तर्गत नेपालले अहिले भुटानको समान गरिरहेको छ ।
युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा आरिफ शेखलाई १३ रनमा गुमाएको हो । उनलाई भुटानका रमेश लिम्बुले पेभेलियन फर्काए ।
यसअघि नेपालले विनोद भण्डारीलाई सुन्य र अनिल कुमार साहलाई २७ रनमा गुमाएको थियो ।
भुटानविरुद्ध ३ विकेट गुमाए पनि नेपालले सय रन कटाएको छ । १६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर १०८ रन जोडेको छ । नेपालका प्रदीप ऐरीले ५८ रनमा अविजित छन् ।
अघिल्ला तीन खेलमा जित निकालेको नेपालले चौथो खेलमा भुटानसंग प्रतिस्पर्धा गरिरहेको हो । भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य लगातार चौथो जित निकाल्नु हुनेछ ।
तुलनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान प्रदर्शन उच्च देखिएको छैन ।
छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ ।
नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनैपनि खेल गुमाउनु परेको छैन । नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ । एक खेल बर्षाको कारण नतिजाबिहिन बनेको छ ।
नेपालले पछिल्लो पटक भुटानसंग सन् २००६ मा खेलेको थियो । मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ बर्षपछि भुटानसंग खेल्न लागेको हो । नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो ।
यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।