एजेन्सी ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले हङकङका तीन क्रिकेटरलाई निलम्बन गरेको छ ।
म्याच फिक्सिङ र भ्रष्टाचारमा मुछिएपछि आईसिसीले अलराउण्डर इरफान अहमेदसहित निदम अहमेद र हासिब अम्जादलाई तत्कालको लागि निलम्बन गरेको हो ।
आईसिसीले उनीहरुलाई आरोपबारे जवाफ दिन १४ दिनको समय दिएको छ । खेलाडीको जवाफपछि थप अनुसन्धान गर्दै आईसिसीले तीनै खेलाडीलाई प्रतिबन्ध लगाउन सक्ने जनाईएको छ ।
आईसिसीले आफ्नो एन्टी करप्सन कोड उल्लङ्घन गरेको भन्दै तीन खेलाडीलाई निलम्बन गरेको हो । तीनै खेलाडी म्याच फिक्सिङमा सामेल भएको आईसिसीले जनाएको छ ।
हङकङका राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउण्डर इरफानलाई सन् २०१६ मा पनि २ बर्ष ६ महिनाको प्रतिबन्ध लागेको थियो । इरफानले एन्टी करप्सन कोड अन्तर्गत ९ धारा उल्लंघन गरेको बताईएको छ । यस्तै निदम र हासिबले भने पाँच पाँच धारा उल्लंघन गरेको जनाईएको छ ।