काठमाडौं । आगामी कार्तिकमा दोस्रो साताबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीले मान्यता दिएको छ ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले आईसिसीले पत्र पठाउदै प्रतियोगितालाई मान्यता दिएको खेलपाटीलाई जानकारी गराए ।
'हामीले प्रतियोगिता संचालनको लागि पत्र पठाएका थियौं । आईसिसीले हामीलाई मान्यता दिएको छ,' प्रबन्ध निर्देशक लामाले भने ।
प्रतियोगिताको आयोजनाको लागि आयोजकले आईसिसीलाई २० हजार अमेरिकी डलर बुझाएको छ । जुन रकम नेपाली क्रिकेट विकासको लागि खर्च हुनेछ । नेपाल क्रिकेट संघ क्यान प्रतिबन्धमा परेसंगै नेपाली क्रिकेटका हरेक कार्य आईसिसीले हेर्दै आएको छ ।
सर्वाधिक पुरस्कार राशीको हुने लिग कार्तिक ९ देखि २० सम्म पोखरा रंगशालामा संचालन हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । सवै टिमको नाम ६ सहरको नामबाट राखिएको छ ।
यसपटक विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
सबै टोलीले आफ्नो मार्की खेलाडी सार्वजनिक गरिसकेका छन् ।