एजेन्सी । भारतीय क्रिकेट कप्तान विराट कोहली एकदिवसीय क्रिकेटको ब्याट्सम्यानतर्फको नयाँ वरीयतामा शीर्ष स्थानमा यथावत रहन सफल भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सोमबार निकालेको नयाँ वरीयतामा कोहली शीर्ष स्थानमा कायम रहेका हुन् । आईसीसीले निकालेको नयाँ वरीयतामा कोहलीले ८८४ अंक प्राप्त गरेका छन् ।
कोहलीले भारतकै रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा कायम रहन सफल भएका हुन् । वरीयताको दोस्रो स्थानमा रहेका रोहितले ८४२ अंक प्राप्त गरेका छन् । कोहली टेष्ट क्रिकेटको ब्याट्सम्यानतर्फ पनि शीर्ष स्थानमा रहेका छन् ।
यस्तै इंग्ल्यान्डका जोय रुट्स ८१८ अंक जोडेर तेस्रो स्थानमा रहदा ८०३ अंकसहित अष्ट्रेलियाका पूर्वकप्तान डेविड वार्नर चौथो र ८०२ अंक जोडेर भारतका शिखर धवन पाँचौ स्थानमा रहेका छन् ।
नयाँ वरीयतामा पाकिस्तानका बाबर अजम, न्युजिल्यान्डका रोज टेलर, न्युजिल्यान्डकै केन विलियमसन, दक्षिण अफ्रिकाका क्विनटन डी कक र इंग्ल्यान्डका जोनी ब्रईस्टो छैटौंबाट क्रमश दशौं स्थानसम्म रहेका छन् ।
एकदिवसीय क्रिकेटको बलिङतर्फ भारतका जस्प्रित बुम्राह शीर्ष स्थानमा यथावत रहेका छन् । उनले ८२१ अंक पाएका छन् । बलिङतर्फ दोस्रो स्थानमा रहेका अफगानिस्तानका रासिद खानले ७८८ अंक जोडेका छन् भने भारतका कुलदीप यादव ७०० अंकसहित तेस्रो स्थानमा छन् ।
न्युजिल्यान्डका ट्रेन्ड बोल्ट चौथो र अष्ट्रेलियाका जोस हाजलवुड पाँचौ स्थानमा रहेका छन् । बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो राबडा र इमरान ताहिरले शीर्ष १० भित्र स्थान पक्का गरेका छन् ।
आईसीसीले निकालेको नयाँ वरीयताको अलराउण्डरतर्फ अफगानिस्तानका रासिद खान शीर्ष स्थानमा रहदा बंगलादेशका शकिब अल हसन दोस्रो स्थानमा छन् ।
त्यस्तै अफगानिस्तान मोहमद नाबी तेस्रो, न्युजिल्यान्डका मिचेल स्टाननर चौथो र पाकिस्तानका मोहमद हाफिज पाँचौ स्थानमा रहेका छन् ।
एकदिवसीय राष्ट्रको वरीयतामा इंग्ल्यान्ड शीर्ष, भारत दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा रहेको छ । वरीयतामा दक्षिण अफ्रीका चौथो र पाकिस्तान पाँचौ स्थानमा यथावत रहेका छन् ।