काठमाडौं । नेपाली यू-१८ राष्ट्रिय महिला टोलीका फरवार्ड रेखा पौडेलले रेफ्रीको कारण नेपालले साफ यू-१८ महिला च्याम्पियनसिप फाइनलमा बंगलादेशसंग हार बेहोर्नु परेको बताएकी छिन् ।
आइतबार भएको फाइनलमा नेपाल बंगलादेशसंग १ - ० ले पराजित भएको थियो । बलियो टोली बंगलादेशलाई पहिलो हाफमा गोलरहित बराबरी रोकेपनि नेपालले दोस्रो हाफमा गोल खाएको थियो ।
'हामीले रेफ्रीको कारण खेल हारेका हौ,' बंगलादेशसंग पराजित भएपछि रेखाले भुटान फुटबलसंग भनेकी छिन्, 'हामीले गोल गरेपनि गोलको मान्यता दिएन् । अफसाइड गोल गरेपनि रेफ्रीले बंगलादेशलाई गोल दियो ।'
बंगलादेशसंग पराजित भएपनि रेखाले नेपालीहरुले कहिल्यै हार नमान्ने बताएकी छिन् । रेखाले भनेकी छिन्, 'हामी खुसी छौं । हामी नेपाली हौ । हामी कहिल्लै हार मान्दैनौ । हामी नेपाल आमाको शिर उच्च राख्नेछौं । यो साफलाई राम्रो मान्दै हामी नेपाल फर्कन चाहन्छौं ।'
च्याम्पियनसिपमा नेपाल उपविजेता बनेपनि रेखा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । रेखाले प्रतियोगितामा कुल ७ गोल गरेकी थिइन् ।
यस्तै रेखाले नेपालले पाएको यो नतिजामा खुसी हुनुपर्ने बताईन् । 'मैले सर्वाधिक गोलकर्ताको उपाधि जित्दा खुसी छु । तर, हामीले खेल हारेका छौ । यसमा पनि हामी खुसी हुनुपर्छ ,' रेखाले थपिन ।