काठमाडौं । नेपाल साफ यू-१८ महिला च्याम्पियनसिप फुटबलको उपविजेता बनेको छ । आइतबार भएको फाइनलमा बंगलादेशसंग १ - ० ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा बंगलादेशलाई उपाधि दिलाउन मासुरा प्रभिनले निर्णायक गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा प्रभिनले निर्णायक गोल गरेकी हुन् ।
उपाधि जित्ने लक्ष्यसहित भुटान गएको नेपालले पाएको मौकामा गोल गर्न नसक्दा पराजित हुन पुग्यो । पहिलो हाफमा बल पोजिसनमा पकड जमाएपनि नेपालले गोल गर्न सकेनन् ।
यसअघि सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३ - १ ले हराएर फाइनल पुगेको हो । यस्तै बंगलादेशले भुटानलाई ४ - ० ले हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।
च्याम्पियनसिपमा भारतले तेस्रो स्थान हासिल गरेको छ । आइतबार नै भएको खेलमा भुटानलाई १ - ० ले हराएर भारत तेस्रो भएको हो ।