काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिक खेलका लागि एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार २२ सदसीय नेपाली टोलीको घोषणा गरेको हो । रेनुका नगरकोटीको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा ५ नयाँ खेलाडी रहेका छन् । अन्य खेलाडी पुरानै अनुहार रहेका छन् ।
नेपालले छनोटको लागि गत भदौ दोस्रो साताबाट तयारी थालेको थियो । एन्फाले पहिलो चरणमाबोलाएको ४७ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीको विशेष क्लोज क्याम्प सोमबारबाट सुरु हुनेछ । तीन साताको क्लोज क्याम्पपछि नेपाली टोली मैत्रीपूर्ण खेलको २७ अक्टोबरमा चीन जाने छन् । चीनमा नेपालले दुई अभ्यास खेल खेल्नेछन् ।
एसिया छनोटमा नेपाल समूह 'सी' मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।
छनोट अन्तर्गत नेपाल रहेको समूहको छनोट खेल नोभेम्बर ८ देखी ११ सम्म हुनेछ । नेपालले नोभेम्बर ८ मा भारत, ११ मा म्यानमार र १३ मा बंगलादेशसंग खेल्नेछन् । तर, खेल आयोजना हुने स्थलको तय भएको छैन ।
ओलम्पिकका लागि पछिलो चरणमा एसियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह 'ए' र 'बी' मा पाँच पाँच राष्ट्र रहेको छ भने समूह 'सी' र 'डी' मा चार चार टोली रहेका छन् । प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।
दोस्रो चरणको छनोटमा भियतनाम र उज्वेकिस्तानसहित १२ टोलीले खेल्नेछन् । तीन समूहमा विभाजन गरिने दोस्रो चरणको छनोटबाट समूहको शीर्ष टोलीले तेस्रो चरणमा स्थान बनाउनेछन् ।
तेस्रो चरणमा चीन, अष्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, थाइल्याण्ड जस्ता राष्ट्रसंग खेल्नेछन् । तेस्रो चरणको छनोटआठ टोलीले खेल्नेछन् । दुई समूहको शीर्ष दुई टोलीले फाइनल चरणको यात्रा गर्ने छन् । फाइनल चरणका दुई टोलीले टोकियो ओलम्पिक खेल्ने छन् ।
नेपाली टिम :
गोलकिपर : एन्जिला तुम्बोप्पो सुब्बा, रुपा राना मगर, लिला लाम्गाडे
डिफेन्डर : गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर
मिडफिल्डर : रेनुका नगरकोटी, दिपा राई, इन्दिरा राई, विमला चौधरी, दिपा अधिकारी, अनिता वस्नेत, दिपा न्यौपाने
स्ट्राइकर : अनिता केसी, सावित्रा भण्डारी, निरु थापा, सर्मिला थापा
मुख्य प्रशिक्षक - हरि खड्का
प्रशिक्षक - मृगेन्द्र मिश्र
टिम म्यानेजर - कमला हरिचन थकाली